गुल्मी- पछिल्लो समय युवाहरु रोजगारीको लागि विदेश जानेको संख्या बढ्दै गइरहेको वेला कृषि ज्ञान केन्द्र गुल्मीले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै आएको छ ।

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका ४ दिगाम गाउँका ३६ वर्षीय युवा चिरञ्जिवी पन्थले बसाइँ सराईबाट अन्य ठाउँमा गएका छिमेकीको २० रोपनी जग्गा भाडामा लिई यस वर्ष ६ रोपनीमा मल्चिङ प्रविधिमा आधारित बेमौसमी तरकारी फुलगोभी र बन्दागोभी लगाउनु भएको छ ।

कोडिभले गाउँ फर्किएका पन्थले त्योबाहेक दैनिक २५ लिटर दुध बिक्री र व्याबसायिक कुखुरा पालन समेत गर्नुभएको छ । सरकारले कृषकको उत्पादनलाई बजारको ग्यारेन्टी गर्ने हो भने कृषक आफै जगरुप हुने कृषक पन्थको भनाइ छ ।

विदेशबाट आएपछि कृषि गर्न थालेर विस्तारै कृषि ज्ञान केन्द्रसंग जोडिन पुगेपछि आफूलाई झन् काम गर्न उत्साहित भएको पन्थको भनाइ छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले श्रृङ्गादेखी दिगामको गाउँलाई कागती र सुन्तलाको माध्यमबाट नमूना गाउँ भनेर चिनाउने गरी काम गरेको बताउनुभयो । पछिल्लो समय विदेशबाट गाउँ फर्केका युवाहरुमा विस्तारै कृषि पेशातर्फ आकर्षण बढिरहेको हुँदा त्यसमा कृषि ज्ञान केन्दले सहयोग गरेको उहाँको भनाई छ ।

पछिल्लो समय कृषि ज्ञान केन्द्र गुल्मीले चक्लाबन्दी कार्यक्रमबाट पनि धेरै बाँझो जग्गाको सदुपयोग गर्दै आएको छ । गाउँमा धेरै बर्षदेखी बाँझो रहेको जग्गामा कागती र सुन्तलाका बिरुवाहरुले गाउँलाई हराबरा गराउँदै गएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

माटो ब्यवस्थापन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र गुल्मीले २० लाख ३ हजार ४ सय ९२ रुपैयाँ अनुदानमा खर्च भएको छ । १६ वटा भकोरो सुधार, छानो सहितको मलखाद ९ वटा, भर्मिकम्पोष्ट पिट १, कम्पोष्ट पिट २, मलखाद पिट १२ रहेका छन् । जसमा ८५ प्रतिशत कृषि ज्ञान केन्द्र र १५ प्रतिशत समूहको लगानीमा कार्यक्रम सम्पन्न भएका छन् ।

त्यस्तै निःशुल्क १० मेटन जैविक मल वितरण, १३.५ मेट्रिक टन कृषि चुन, माटो परिक्षण शिविर तालिम दिएको छ ।