८ पुस, पाेखरा ।  गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले समुदाय प्रहरी साझेदारी अभियानले जनतालाई प्रहरीसंग प्रत्यक्ष जाडेकाले पछिल्लो समय समाजमा सुशासन कायम गर्न थुप्रै सकरात्मक पहलहरुले सार्थकता पाईरहेको बताउनु भएको छ ।

यही पौष ०७ गते लमजुङ जिल्लाको क्योलासोथार गाउँपालिका-९ टक्सार स्थित नव निर्मित प्रहरी चौकि गिलुङको भवन उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
साथै नागरीकसंगको समन्वय र सहयोग बिना कुनैपनी समाजमा प्रहरी सफल नहुने भएकाले विकृती विसंगतीको अन्त्य गर्दै समृद्ध र समुन्नत समाज निर्माणका लागि सबै पक्षको भुमिका उतिकै महत्वपुर्ण हुने समेत उहाँले बताउनु भयो ।

कार्यक्रममै प्रहरी सेवाका विषयमा बोल्दै उहाँले जनता केन्द्रित प्रहरी सेवानै प्रहरी संगठनको पहिलो र महत्वपुर्ण प्राथमिकता भएकाले बद्लिदो परिस्थिती अनुसार प्रविधीमैत्री प्रहरीबाट जनमैत्री प्रहरी सेवा प्रवाह गर्नुको विकल्प नरहेको र यसप्रती संगठनले समेत थप वृहत गृहकार्य गरिरहेको स्पष्ट पार्नु भएको छ ।

राष्ट्रिय पुन:निर्माण प्राधिकरण कोषको सहयोगमा निर्माण सम्पन्न भएको उक्त प्रहरी चौकीको प्रहरी नायव महानिरीक्षक घिमिरेले शिलालेख अनावरण गरि विधिवत रुपमा उद्‌घाटन गर्दै उक्त नव निर्मित भवनबाट आम नागरीकले छिटो छरितो र सरल एवम सुलभ प्रहरी सेवा पाउनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्त्वय राख्दै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले तालुक कार्यलयको निती निर्देशनलाई सदैव आत्मसाथ गर्दै जिल्लामा भरपर्दो शान्ति सुरक्षा कायम गर्न आफुहरु हरसम्भव तत्पर रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्का, क्वोलासोथार गाउँपालिका प्रमुख प्रेम बहादुर घले,गण्डकी प्रदेश नेपाल प्रहरी श्रिमती संघकी अध्यक्ष पार्वति शर्मा घिमिरे, जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु आम सर्वसाधरण लगायतको उपस्थिती रहेको थियो ।

सोहि दिननै प्रहरी नायव महानिरीक्षक घिमिरेले जिल्ला अन्तर्गतकै ईलाका प्रहरी कार्यालय भोर्लेटारको निरीक्षण गर्नु भई प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।