१० पुस, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदले बनाएको कानूनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको बताएका छन् ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले जवाफ दिएका हुन् ।
२१ साउन २०५२ मा गोकर्णको २७९३ रोपनी जग्गा फरेस्ट रिर्साट निर्माण गर्न ३० वर्षका लागि लिज सम्झौता भएको थियो । यो सम्झौता अवधि करिव साढे ५ वर्ष बाँकी रहँदा नै सरकारले हालै मात्र लिज अवधि थप गरेको छ ।
उनले कौडीको दाममा दिइयो भन्ने दाबी अस्वीकार गरे । ‘फेयर मार्केट भ्यालू’का आधारमा भाडादर तोकिएको भन्दै उनले पुरानो सम्झौताअनुसार बाँकी बाँकी अवधिमा ४ करोड ३१ लाख ८३ हजार २०० रुपैयाँ भाडा आउने बताए ।








