११ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षको छलफल सुरु भएको छ।

बिहीबार साँझ वरिष्ठ नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको दुई पक्षको वार्ता टोलीको छलफलले सहमति नजुटाएपछि पौडेल पक्षले आफ्नो धारणा बनाउन कोइराला निवासमा भेला भएको हो।

अन्य विषयमा सामान्य सहमति भए पनि नेविसंघको विषय दुवै पक्षको बटमलाइन बनेको छ। ‘पटक पटक छलफल भए पनि सहमति भएको छैन,’ वरिष्ठ नेता सिंहका सहयोगी युपी लामिछानेले भने, ‘अहिले दुबै पक्षको बटमलाईन नेविसंघ बनेको छ ।’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ। पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन एवं भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि बैठक बस्न लागेको हो।

यसअघि छलफलका लागि भन्दै एक साता स्थगित गरेर १० गतेको लागि बैठक डाकिएको थियो।

१० गते सूर्य ग्रहणका कारण सरेको बैठक शुक्रबार दिउँसो १ बजेको लागि डाकिएको छ।  गत मंसिर २६ मा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पटकपटक बहिस्कार गरेपछि राम्रोसँग बस्न सकेको थिएन।

बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका विभागहरु, तिनलाई प्रदान गर्ने नेतृत्व, तरुण दलमा सदस्य मनोनित एवं नेविसंघको तदर्थ समिति गठनलगायतका विषयमा पौडेल पक्षको असहमति छ।

पौडेल पक्षले अब सिधै १४ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने र सोही प्रस्ताव सभापतिले बैठकमा ल्याउनुपर्ने भन्दै बैठक बहिस्कार गर्दै आएको छ।

शुक्रबारको बैठकमा पनि पौडेल पक्षले आफ्ना पुरानै मागहरु दोहो¥याउने तयारी गरेको छ। तर, सभापति देउवा भने अब पेलेरै जाने तयारीमा रहेको उनका निकट नेताहरुले जनाएका छन्।