१३ पुस, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुमतको आडमा भएको निर्णयले कांग्रेसलाई अझ धरासायी बनाउने बताएका छन्।
उनले पार्टी सभापति देउवाको अधिनायकवादी सोचका साथ गरेका निर्णय स्वीकार्य नहुने प्रष्ट पारे। ‘बहुमतको आडमा भएको निर्णयले कांग्रेसलाई अझ धरासायी बनाउँछ’, उनले भने, ‘केन्द्रीय समितिका निर्णय हामीलाई स्वीकार्य छैन।’ एउटा व्यक्तिको सोचका कारण पार्टी कमजोर बन्नु नहुनेमा जोड दिए।

केन्द्रीय समिति बैठकका निर्णयविरुद्ध असन्तुष्ट नेताको छलफल शनिबार शशांक निवास महाराजगञ्जमा भयो। छलफल सकिएपछि पत्रकारसँग कुरा गर्दै नेताहरुले शुक्रबार पार्टी सभापतिले गरेका निर्णयप्रति चर्को आपत्ति जनाएका छन्।
केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या ४७ पुर्याउने, चौधौं महाधिवेशन २०७७ फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप्ने लगायत विभिन्न नौ वटा निर्णय गरेको छ।
बैठक वरिष्ठ नेता पौडल, महामन्त्री शशांक कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेका थिए।








