१३ पुस, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुको बहुमतले विधेयक पारित भएको हो ।
समिति बैठकमा विधेयकमाथि हात उठाएर मत जाहेर गरिएको थियो । कांग्रेस सांसद रङ्गमती शाही, बहादुरसिंह लामा र राम बहादुर विष्टले विपक्षमा हात उठाए ।
विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ ।








