१४ पुस, काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरमा घरभाडामा बस्नेहरुको अभिलेख राख्ने भएको छ ।  

गृह मन्त्रालयले घरभाडामा बस्न आउने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने निर्णय गरेको हो ।

घर वा कोठा भाडामा लगाउँदा भाडामा लिनेको परिचय खुल्नेसहितको विवरण नजिकैको प्रहरी कार्यालयलाई बुझाउनुपर्ने मन्त्रालयले निर्णय गरेको छ।

बैठकले भाडामा बस्ने व्यक्तिहरुबाट आपराधिक गतिविधि हुने गरेको भन्दै उनीहरुको अभिलेख राख्ने निर्णय गरेको हो ।

काठमाण्डौ उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा लिई विभिन्न व्यक्ति  तथा समूहद्वारा आपराधिक गतिविधिहरु गर्ने, चोरी, डकैति, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवं अराजक गतिविधि गर्ने गरेको पाइएको भन्दै’ गृह मन्त्रालयले त्यसरी भाडामा लिएको कोठा वा घर छाडेको जानकारीसमेत प्रहरीलाई गराउन निर्देशन दिएको छ।