१७ पुस, काठमाडाैं ।  उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले उखु किसानको ऋणबारे सरकारले आवश्यक कमद चाल्ने बताएका छन्।

बिहीबार राष्ट्रियसभामा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन्।

मन्त्री भट्टले चिनी तस्करी अहिले रोकिएको बताए। ‘सीमा क्षेत्रका जनताले प्रयोग गर्न २/४ किलो चिनी ल्याए होलान् तर व्यवसायी गर्न भने भारतबाट चिनी आएको छैन्।’

राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बाेल्दै मन्त्री भट्टले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै उखु किसानको समस्या समाधानका लागिपरेको दाबी गरे।

मन्त्रालयमै किसान र उद्योगीलाई बोलाएर समस्या समाधानका लागि आफूले पहल गरेको उनले बताए। उखु किसानहरु उद्योगीलाई खोज्दै काठमाडौं आएको थाहा पाउनेबित्तिकै समस्या समाधानका पहल गरेको मन्त्री भट्टले बताए।

सरकारले पुस २५ गतेभित्र ८० प्रतिशत र माघ ७ गतेभित्र बाँकी २० प्रतिशत भुक्तानी गर्न सबै चिनी मिललाई निर्देशन दिएको पनि मन्त्री भट्टले जानकारी दिए। साथै सबै चिनी मिललाई यस वर्ष उत्पादन भएको उखु किन्न पनि निर्देशन दिएको उनले जानकारी दिए।