१८ पुस, काठमाडौं । ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानीको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा ज्यान गएको छ ।
यो आक्रमणको जिम्मा अमेरिकाले लिएको छ । यो आक्रमणमा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल– मुहान्दिसको पनि ज्यान गएको छ । हवाई आक्रमणमा प्रमुख साेलेमानीसँगै आठ जनाकाे ज्यान गएकाे छ ।
अमेरिकी रक्षा विभागको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीको रक्षाको लागि कासिम सोलेमानीलाई मार्ने कदम उठाइएको हो । अमेरिकाले उनलाई आतङ्कवादी घोषित गरिसकेको थियो ।’
‘यो हवाई आक्रमण भविष्यमा ईरानी आक्रमणलाई रोक्ने उद्देश्यका साथ गरिएको हो । अमेरिका जहाँ भए पनि ऊ आफ्नो नागरिकको रक्षाको लागि आवश्यक कारबाही गर्न सधैँ तयार छ’, बयानमा भनिएको छ ।
यद्यपि सोलेमानको निधन मध्य–पूर्वसँग जोडिएको एक ठूलो घटनाको रुपमा बताइएको छ । साथै ईरान र यसको समर्थित मध्य–पूर्व शक्तिले अब इसरायल र अमेरिकाविरुद्ध जवाफी कारबाही गर्न सक्ने बताइएको छ ।








