२० पुस, काठमाडौं ।  सुनसरीको ईटहरी उप-महानगरपालिका-८ कदम टोलबाट पेस्तोल र गोली सहित २ जनालाई पक्राउ गरिएको छ ।

अबैध हातहतियारको ओसार पसार भईरहेको भन्ने सूचना पाए संगै ईलाका प्रहरी कार्यालय ईटहरीले हतियार सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचा नगरपालिका- ४ का ३३ बर्षीय जागिर खान र सुनसरीको हरीनगरा गाउँपालिका-७ का ४७ बर्षीय जमिल अंसारी रहेका छन् ।

को ९ प ७४८६ नम्बरको मोटरसाईकलमा सवार रहेका दुवैजनालाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा निजहरुको साथबाट म्यागजिन सहितको १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली बरामद भएको थियो ।

हतियार र गोली सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।