२० पुस, काठमाडौं । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।
राष्ट्रिय सभाका ५९ जना सांसदमध्ये एकतिहाइको दुई वर्ष, अर्काे एक तिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १९ जना सांसदको पदावधि आउँदो फागुन २० गते सकिँदैछ । जसमध्ये एक जनालाई राष्ट्रपतिले मनोनयन गर्ने भएकाले बाँकी १८ जनाका लागि चुनाव हुन लागेको हो ।
चुनावमा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिका मेयर/उपमेयर र प्रदेश सभाका सदस्यले मतदान गर्न पाउँछन् । यो चुनावबाट महिला र अन्य समूहबाट सात–सात जना तथा दलित र अल्पसङ्ख्यक समुदायबाट दुई–दुई जना निर्वाचित हुने आयोगले जनाएको छ । चुनावका लागि दलहरुले उम्मेदवार चयन गरिसकेका छन् ।
उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भैसकेको छ । उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ ।








