२१ पुस, काठमाडौं । नेवा–ताम्सालिङ समन्वय समितिले प्रदेश ३ को नाम बाग्मती प्रदेश राख्ने निर्णयको विरोधमा प्रदर्शन गरेको छ ।

समितिले प्रदेशको नाम बहुपहिचानको आधारमा नेवा-तामसालिङ घोषणा गर्नुपर्ने मागसहित माइतीघरमण्डलामा प्रदर्शन गरेको हो । बागमती प्रदेश कुनै पनि हालतमा स्वीकार्य नहुने समितिले जनाएको छ ।

यसअघि नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र यसको राजधानी हेटौंडालाई बनाउन पार्टीका नेताहरुलाई निर्देशन दिएपछि नेपाल आदिवासी जनजाति महासंघले त्यसको विरोधस्वरुप प्रदर्शन आयोजना गरेको हो ।

प्रदर्शनकारीले पञ्चायतकालीन वाग्मती प्रदेश नमान्ने, नेवा ताम्सालिङ नछाड्ने प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गरेका थिए । उनीहरुले नेवा ताम्सालिङ प्रदेश नामकरण गर्न माग गरे ।

प्रदेशको नाम वाग्मती राखेर पहिचान मेट्न खोजेको आरोप लगाउँदै उनीहरुले नारावाजी गरेका थिए ।