२२ पुस, काठमाडौं । बिना टिकट रेलको यात्रा गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था गरिएको छ । रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त जरिवाना उल्लेख गरिएको छ ।

विधेयकको दफा ३३ को उपदफा ४ मा भाडा नतिर्ने व्यक्तिलाई भाडा तथा सो बराबरको थप रकम बुझाउन आदेश गरी २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ ।

त्यस्तै, विधेयकमा उपचार खर्च, क्षतिपूर्ती वा करिया खर्च सम्बन्धमा रेल दुर्घटनाबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानी वा नोक्सानी पुग्न गएमा स्थिती विचार गरी औषधि उपचार वापत एक लाख रुपैयाँसम्म उपलब्ध हुनेछ ।

त्यस्तै, दुर्घटनाबाट अंगभंग भएमा २ लाख ५० हजार रुपैयाँ र चोटपटक लागी काम लाग्ने भएमा १ लाख ५० हजार रुपैयाँ पाइनेछ । त्यस्तै, कुनै व्यक्तिको मृत्यु भएमा किरिया खर्च वापत २ लाख रुपैयाँ र क्षतिपूर्ती वापत ५ लाख रुपैयाँसम्म क्षतिपूर्ती पाउने उल्लेख गरिएको छ ।

दुर्घटनाबाट कुनै व्यक्तिको सम्पत्ति हानी नोक्सानी भएमा त्यस्तो हानी नोक्सानी भए वापत ५ लाख रुपैयाँसम्म क्षतिपूर्ती उपलब्ध गराइनेछ ।

त्यस्तै, कसैले रेल कब्जा गरी प्रयोग हुन नदिइ वा अन्य कुनै किसिमले हानी पु-र्याएमा १० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना हुनेछ ।

विधेयकमा रेल चालक वा सहचालकको योग्यता समेत सम्बन्धि व्यवस्था गरिएको छ । जसमा कम्तीमा प्लस टु वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने चालक हुनका लागि कम्तीमा ५ वर्ष सह चालकको रुपमा काम गरेको हुनुपर्नेछ ।

त्यस्तै चालकको उमेर २५ वर्ष र सह चालकको उमेर २० वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ ।