२५ पुस, काठमाडौं । बहुमूल्य उपहार पार्सल गरी पठाइदिने आश्वासन दिएर ठगी गर्ने २ विदेशीसहित पाँच जना पक्राउ परेका छन् ।

फेसबुक, हृवाट्सएप, इमो टि्वटरमार्फत नेपालीलाई ठगी गर्दै आएका पाँच जनालाई बुधबार काठमाडौंबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले जनाएको छ ।

पक्राउ पर्नेमा ४० वर्षीय साइरिल चिनोन्सो इबे र २३ वर्षीय यासपे एडजी पियरेजियन छन् । मुख्य अभियुक्त साइरिल नाइजेरियन र पियरेजियन आइबोरिकोस्टको नागरिक भएको खुलेको छ ।

त्यस्तै यही समूहसँग जोडिएर ठगीमा संलग्न चितवनका ४० वर्षीय रामचन्द्र गैह्रे, काठमाडौंका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवनकै ३१ वर्षीय हरि ओझालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूले विदेशी नागरिकको नाममा फेसबुक, टि्वटर, इमोलगायतको एकाउन्ट खोलेर साथी बनाउँदै ठगी गर्दै आइरहेका थिए ।

समातिएका पाँचै जनाको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।