२५ पुस, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म विशेष गरी हिन्दू महिलाहरूद्वारा लिइने श्रीस्वस्थानी व्रत र माघस्नान शुक्रबारदेखि सुरु हुँदै छ।
सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा पूर्ण भएको मान्यतामा आधारित रही श्रीस्वस्थानी व्रत र माघस्नानको प्रचलन रहेको हो।
शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गरेकाे छ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।
शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने गरिएको छ ।








