२७ पुस, काठमाडौं । ताइवानकी राष्ट्रपति इङ्ग–वेनले आमचुनावमा सानदार जितका साथ दोस्रो कार्यकाल हासिल गरेकी छिन् । 

साइ इङ्गले आमचुनावमा ५७ प्रतिशतभन्दा धेरै मत प्राप्त गरिन् । उनले ८२ लाख मत प्राप्त गर्दै रेकर्ड कायम गरिन् । उनले प्रतिद्वन्द्वी कुओमिनटाङ्ग पार्टीका खान ग्वो यीलाई निकै पछाडि छोडिन् । 

साई इङ्ग–वेनको जित विश्वका लागि निकै महत्वपूर्ण छ किनकि उनी चीनसँगको नजिक सम्बन्धलाई लिएर विरोध गर्दै आइरहेकी छिन् । 

आफ्नो जितसँगै उनले फेरि एक पटक चीनलाई ताइवानमाथि हाबी हुने विचार त्याग्न भनेकी छिन् । जितपछि उनले सम्वाददातासँग भनिन्, ‘ताइवानले आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई कसरी उत्सवको रुपमा मनाउँछ भनेर विश्वलाई नै देखाएको छ ।’

अमेरिकाले साईको जितलाई लिएर खुशी व्यक्त गर्दै यो जित लोकतान्त्रिक व्यवस्थाको हकमा भएको बताएको छ । अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘साईको दोस्रो कार्याकालमा ताइवान र अमेरिकाको सम्बन्ध थप मजबुत हुन्छ । हामी लोकतन्त्र, अर्थव्यवस्था र मानिसहरुको खुशीका लागि साथमा मिलेर काम गर्नेछौँ ।’