भारतको हैदराबादमा नेपाली दम्पती २ करोड भारु (३ करोड २० लाख नेपाली रुपैयाँ) बराबरको नगद, गरगहना र विद्युतीय सामग्री चोरी गरी फरार भएका छन् ।

हैदराबादको सैनिकपुरीमा एक रियलस्टेट व्यवसायीको घरमा घरेलु कामदारको रुपमा कार्यरत ती दम्पतीले उनै रियलटेट व्यापारीको घर फुटाएर चोरी गरी फरार भएका हुन् । आइतबार राती व्यापारीको परिवार एक कार्यक्रममा सहभागी हुन घरबाहिर भएका बेला उनीहरुले घर फुटाएर चोरी गरी फरार भएका हुन् । दम्पती त्यही घरको परिरमा एक आउटहाउसमा बस्थे ।

आधा रातभन्दा पछि परिवार घर फर्केर आउँदा घरको मूल ढोका खुल्लै थियो । घरमा भित्र गएर हेर्दा उनीहरुले सुन र हीराका गरगहना, महंगा विद्युतीय उपकरण र घरमा राखिएको नगद हराएको थाहा पाए । घरमा काम गर्ने कामदारहरु हराइरहेका थिए । सूचना आएपछि आएको पुलिसले दम्पतीले घरको ढोका फुटाउन धातुका हतियार प्रयोग गरेको पाएको छ । सीसीटिभी फुटेजमा दम्पतीले चोरी गरेर बेलुका ८ बजेतिर घर छाडेर निस्केको देखिएको छ ।

दम्पतीले घरबाट फरार हुन मालिकको मोटरसाइकल प्रयोग गरेका थिए ।