काठमाडौं । विभागीय टिम एपीएफलाई हराउँदै संकटा क्लब १९ औं संस्करणको आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनलको खेलमा काठमाडौंको संकटाले विभागीय टिम एपीएफलाई २–० गोल अन्तरले पराजित गर्यो ।

संकटाको जितमा सुबास गुरुङ र विदेशी खेलाडी ग्लोरीले समान एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा ग्लोरीको पासलाई सदुपयोग गर्दै सुबासले संकटालाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम मिनेटमा ग्लोरीले गोल गर्दै संकटाको जित सुनिश्चित गरेका थिए ।

जितमा संकटाका प्रशिक्षक सल्यानी खड्गी खुसी देखिए । एपीएफविरुद्ध प्राप्त जितलाई उनले आफ्नो प्रशिक्षक करियरको रमाईलो पलको रुपमा ब्याख्या गरे ।

‘अपेक्षा अनुसार खेलाडीले खेल्न सके । फाईनलका लागि पनि हामीसंग दुई दिन बाँकी छ । फाइनलमा पनि यस्तै खेल्ने कोशिश हुनेछ ।’ उनले भने ।

‘खेलाडीले अपेक्षा भन्दा धेरै राम्रो प्रर्दशन गरे ।’ उनले थपे ।

एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले गोलका प्रयास गरेपनि सफल नभएको बताए ।

‘मुख्य त गोलमै समस्या भयो । गोलनै गर्न सकिएन । त्यसैमा हाम्रो कमजोरी रह्यो ।’ उनले थपे ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।