पाेखरा । पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले बतास फाउण्डेसनले पश्चिमान्चल क्षेत्रीय अस्पतालमा निर्माण गर्न लागेको अक्सिजन प्लाण्टका लागि एक लाख एक हजार १ सय ५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले भने:-‘अक्सिजन नपाएर नागरिकहरु मर्नुपर्ने अवस्था छ । राज्य आफ्नो जिम्मेवारीबाट च्युत भैसकेको छ,निजी क्षेत्रले भए पनि पुण्यको काम गर्न लागेको सुन्दा खुशी लाग्यो । मलाई सरकारले दिने सुविधाबाट नागरिकको जीवन रक्षामा सहयाेग गर्ने निर्णय गरे ।’

यसबाहेक उनले जनप्रतिनिधि भए बापत प्राप्त हुने भत्ता लगायतका सुविधा सामाजिक कार्यमा खर्चिदै आएका छन् ।

उनले वडा र महानगरको बजेटमा व्ययभार नपर्ने गरी आफ्नै सुविधाबाट कटाएर सामाजिक कार्यमा सहयाेग गर्ने गरेकाे बताए ।

महानगरका वडाध्यक्षले मासिक २७ हजार हाराहारी सुविधा पाउँछन् । त्यसबाट बास्तोलाले ४ नम्बर वडा स्तरीय कोभिड सहयोग समितिमा थप १५ हजार १ सय ५ सहयोग गरेका थिए ।

बतास फाउण्डेसनको संयोजनमा पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उच्च गतिको अक्सिजन उत्पादन प्लाण्ट जडान गर्न लागिएको छ ।