पाेखरा । आर्थिक अभावमा केही दिन अघि पोखरास्थित मणिपाल अस्पतालबाट निकालिएका जानबहादुर बुढामगरको परिवारलाई थप आर्थिक सहयोग गरिएको छ ।
नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान केन्द्रीय सदस्य भानु ढकालको पहलमा उक्त सहयोग गरिएको हो ।
नेता ढकालले विभिन्न व्यक्तिहरुसंग सहयोग संकलन गरेर बुढामगरलाई सहयोग गरेका हुन् । नेता ढकालले दुई पटकमा गरेर बुढामगरलाई एक लाख ५८ हजार रुपैयाँ हस्तान्तरण गरे ।
बुढामगरलाई सहयोग गर्नेहरुमा पोखरा पृथ्वीचोक निवासी समाजसेवी ध्रुव गुरुङले ६० हजार, नेपाली कांग्रेसका क्रियाशील सदस्य टीका कुमारी गुरुङले २० हजार, युवा व्यवसायी विश्वराज श्रेष्ठले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं युवा नेता प्रज्वल रञ्जितले १० हजार, नेपाली कांग्रेस कास्कीले पाँच हजार, नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य भीम गौतमले पाँच हजार, पोखराका युवा व्यवसायी दीपेन्द्र शर्माले पाँच हजार सहयोग गरे ।
यस्तै, जनप्रिय क्याम्पसका स्ववियु सभापति आशिक गुरुङले पाँच हजार, अमरसिंह उच्च माविका पूर्व प्रधानाध्यापक विजय बहादुर थापाले पाँच हजार, नेपाल तरुण दल कास्कीका नेता सुजन सुवेदीले दुई हजार, लोटस युनिफर्मका सञ्चालक सिद्धार्थ गुरुङ र मिली नेपालीले ६ हजार सहयोग गरेको नेता ढकालले जानकारी दिए । साथै अन्य केही व्यक्तिबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको उनले बताए ।
नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो । उक्त अवसरमा कांग्रेस प्रवक्ता सिग्देलले पैसा अभावमा अस्पतालबाट बिरामी निकालिनु विडम्वना भएको भन्दै मणिपाल अस्पतालको यस्तो रवैया ठीक नभएको बताए ।
उनले मणिपाल शिक्षण अस्पतालमा आगामी दिनमा पनि यस्तै गतिविधि दोहोरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।
पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले मणिपाल शिक्षण अस्पतालमा आगामी दिनमा यस्ता घटना घट्न नदिन अस्पताल प्रशासनसंग बसेर छलफल गर्ने बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत बहादुर खत्रीले जानबहादुर, उनकी श्रीमती र बच्चाको उपचार जारी रहेको र सुधार भइरहेको बताए । साथै उनले उनीहरुको उपचारमा केही कमि हुन नदिने स्पष्ट पारे ।
सहयोग संकलनमा शुरुआती दिनदेखि नै निरन्तर खटिएका नेता ढकालले हालका लागि यति सहयोग गरिएको र थप सहयोग आवश्यक परे आफू सदैव तयार रहेको बताए ।
उनले उपचारबाट कोही पनि बञ्चित हुन नहुने भन्दै यो कार्य मेडिकल माफिया विरुद्धको आन्दोलन भएको बताए । साथै उनले बुढामगरको उपचारमा सदासहायता देखाउने सबैप्रति आभार प्रकट गरेका छन् ।
उक्त अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य भीम गौतम, नेपाल शिक्षक संघ गण्डकीका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष गोविन्द नेपाली, नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीका अध्यक्ष नारायण बराल, जिल्ला अध्यक्ष उदयकान्त तिवारी, संघका सुरेश क्षेत्री र कविता बराल सहभागी थिए ।
आर्थिक अभाव भएपछि रोल्पाका २१ दिने शिशुसहित बुढामगरको परिवार मणिपाल अस्पतालबाट निकालिएका थिए । उनीहरु तीन जना नै कोरोना संक्रमित छन् । उनीहरुको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।








