एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले यही पुस ६ गते हुने संसदको अधिवेशनमा एमसीसी सम्झौताको प्रस्ताव टेबुल हुन सक्ने बताएका छन् ।

यदि एमसीसी सम्झौताको सन्दर्भमा प्रस्ताव टेबुल भएमा सरकारको समिकरण समेत अदलबदल हुन सक्ने उनले बताए । नेकपा एमाले रत्ननगर नगर कमिटीको दोस्रो पूर्ण बैठक एवम् स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले पार्टीको १० औँ महाधिवेशनमा देखिएको जनलहर र जनउपस्थिति देखेर कांग्रेस, माओवादी अताल्लिएको समेत बताए । देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति एमाले भएको र फेरि पनि बहुमत सहित एमाले देशकै ठूलो पार्टी हुने पनि बताए । देशमा कुनै पनि समयमा निर्वाचन हुन सक्ने भएकाले सम्पूर्ण पार्टी कमिटी निर्वाचनको सामना गर्न तयारीका साथ रहन पनि उनले आग्रह गरे ।

समाजवादी युवा संघ रत्ननगरका नेता अधिकारी एमालेमा प्रवेश

नेकपा समाजवादी निकट युवा संघ रत्ननगर १५ का अध्यक्ष रामहरि अधिकारी एमाले पार्टीमा प्रवेश गरेका छन् । लामो समय नेकपा एमालेमै रहेका अधिकारी पार्टी विभाजनको क्रममा नेकपा समाजवादीमा आवद्ध हुन पुगेका थिए । नेकपा एमाले रत्ननगर नगर कमिटीको दोस्रो पूर्ण बैठक एवम् स्वागत तथा सम्मान कार्यक्रममा अधिकारी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

विद्यार्थीकालदेखि नेकपा एमालेमा क्रियाशील रही रत्ननगर १५ को पार्टी कमिटी र युवा संघमा आवद्ध अधिकारीले कम्युनिस्ट पार्टीको मूलधार नेकपा एमाले नै भएको भन्दै आज नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई नेकपा एमालेका उपाध्यक्षद्वय राम बहादर थापा बादल र सुरेन्द्र पाण्डेले पार्टी प्रवेश गराएका थिए । सो कार्यक्रम नेकपा एमाले रत्ननगर नगर कमिटीका अध्यक्ष ईश्वरी प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।