काठमाडौँ– नेपाल एसीसी मेन्स यु–१६ ईस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा सिंगापुरलाई ९८ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर ३ बलमा ८७ रन बनाउँदै अलआउट भयो।

सिंगापुरका ओपनर रोशन रविचन्द्रनले सर्वाधिक २४ रन बनाए । यस्तै, कबिरले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

नेपालका सुर्यांशु कोइरालाले सर्वाधिक ४३ रन बनाए । यस्तै, निरज यादवले ४२, अभिषेक तिवारी २५, सन्तोष यादव १८ तथा प्रतिक भट्टराई र दीपु कुमारले १२–१२ रन जोडे । सिंगापुरका हरिहरनले ३ तथा हर्ष वेंकटराम र कबिर समान २–२ विकेट लिए ।

यो जितसँगै नेपालले मंगलबार हुने फाइनल खेलमा स्थान पक्का गरेको छ ।