काठमाडौं- पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगत्तै सार्वजनिक यातायातको भाडा तीन प्रतिशत घटेको छ ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा चार रुपैँया र पेट्रोलमा प्रतिलिटर छ रुपैँया घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा दुई दशमलव १३ प्रतिशत, मालबाहक सवारीमा पहाडमा दुई दशमलव ७८ र तराईमा तीन दशमलव ०९ प्रतिशतले भाडा घटाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थमा पाँच प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादरसम्बन्धी कार्यविधिमा व्यवस्था छ ।

यसैबीच आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले भने हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै बजेटमा भएको व्यवस्था अनुसार मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो ।