पोखरा- भारतले गरेको सिमा अतिक्रमणको विषयलाई लिएर पोखरामा नागरिक अगुवाहरुले कार्यक्रम गर्ने भएका छन।

भारतीय सरकारी निकायले औपचारिक ढङ्गले नेपाली सिमा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरुद्ध देशव्यापि विरोध भइरहेको छ।

सिमाविद रतन भण्डारी तथा परराष्ट्रविद हिरण्यलाल श्रेष्ठको उपस्थितिमा कार्यक्रम आयोजना गरिने स्वतन्त्र नागरिक मञ्चका सञ्योजक माधव पाहारीले जानकारी दिनुभएको छ। आगामी मंसिर ७ गते शनिवार सृजनाचोक स्थित गाउँघर क्याफे एन्ड रेष्टुरेण्टमा बिहान ८ बजे कार्यक्रम आयोजना गरिएको छ ।

भारतसंग सिमा जोडिएका कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सामरिक महत्व राख्ने नेपाली भुभागलाई भारतले दशकौंदेखि आफ्नो नियन्त्रणमा राख्दै आएको छ भने नेपालीलाई आवतजावत गर्नसमेत प्रतिबन्ध लगाएको छ।

२०१८ मा लिम्पियाधुरा क्षेत्रको जनगणना गरेका नेपाली पत्रकार भैरव रिसालले समेत भारतले मनलाग्दी तरिकाले नेपाली भुमि अतिक्रमण गरेको स्विकार्नु हुन्छ। नेपालका राजनीतिक दल र नेतृत्वको निरिहता र बेवास्ताका कारण नै भारतले यस्तो गररेको रिसालको दावी छ।

व्यास क्षेत्रका गुञ्जी, नावी, कुटी, तिङ्कर र छाँगरु गाउँमा २०१८ सालमा जनगणना गरिएको थियो। जनगणना खटिएका तत्कालीन अधिकृत एवं अग्रज पत्रकार भैरव रिसालले त्यसबेला त्यहाँको जनगणना गरेको थिए।

नेपाल सरकारले २००९ सालमा पूर्वाञ्चल र २०११ मा पश्चिमाञ्चलमा जनगणना गरेको थियो। २०११ को जनगणनाले व्यास गर्खाका ६ ओटा गाउँको घरधुरी संख्या ४ सय ३४ तथा कूल जनसंख्या १ सय ८१६ देखाएको छ।

भारतीय हेपाहा प्रवृति निरन्तर जारीरहेकोले यसको सशक्त प्रतिवाद नागरिक स्तरबाट नै हुनुपर्ने सञ्योजक पाहारीको भनाई छ।

देशमा दुई तिहाईको शक्तिशाली सरकार हँदा समेत भारतको बलमिच्चाईलाई गम्भिरतापुर्वक लिनुपर्ने उहाँले बताउनुभयो। यदि भारतले नेपाली सिमा विवाद वार्ताबाट हल नगर्ने हो भने आँफ्नो संगठन सशक्त आन्दोलनमा जाने जानकारी समेत उहाँले गराउनु भएको छ। आवश्यक परे पोखरामा रहेको भारतीय पेन्सन क्याम्प समेत घेर्ने स्तरका कार्यक्रम संगठनले तय गर्ने जानकारी समेत पाहारीले गराउनु भयो।