८ मंसिर, कास्की । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले
देउवाको आरोपलाई चुनावी मसला बताएका छन ।

नेपाल पत्रकार महासंघ कास्कीले गरेको कार्यक्रममा उनले आइतबार बिहान यस्तो बताएका हुन् ।

पत्रकाहरुको प्रश्नको जवाफ दिँदै बास्कोटाले भने, ‘हाम्रो भाषा लर्बरिँदैन देशभक्तिको प्रश्नमा । नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने, अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ? चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।’

कालापानी र लिपुलेकको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको उनले बताए । “भारतले अहिले जारी गरेको राजनीतिक नक्साप्रति इतिहासमै पहिलोपल्ट नेपालको सिटिङ प्राइममिनिष्टरले म यो मान्दिनँ नेपालको लागि यो स्वीकार्य छैन भनेर बोल्यो,” उनले भने ।

पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको आरोप लगाएका थिए ।