९ मंसिर, काठमाडौं । मंसिर महिनको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी एक नेपालमा मानाईने एक परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ ।
सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ ।
प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।
मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ ।
बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ ।








