२० मंसिर, काठमाडौं । भारतको हैदराबादमा भएको बहुचर्चित बलात्कारको घटनामा पक्राउ परेका चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्।
हैदराबाददेखि ५० किलोमिटर पर महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर भएको हो।
तेलंगना प्रहरीका एडीजी जितेन्द्र नेका अनुसार आज बिहान ठिक तीन बजे चारै अभियुक्त इन्काउन्टरमा मारिएका हुन्।
भारतीय संचार माध्यम भास्करका अनुसार त्यहाँ उनीहरुलाई त्यस दिन घटना कसरी गराइएको थियो भनेर सोधपुछ गरिएको थियो । त्यही क्रममा उनीहरु भाग्न थाले । त्यसपछि पुलिसले गोली चलाउनु पर्यो जसका कारण चारैजनाको मृत्यु भएको छ ।
२८ नोभेम्बरमा हैदराबादको एक टोल प्लाजा नजिकै एक जना २६ वर्षीया डाक्टरको जलेको अवस्थामा शव भेटिएको थियो। मृतक डाक्टरको शव परीक्षण गर्दा बलात्कारपछि हत्या गरेर जलाएको थाहा भएको थियो। घटनापछि पक्राउ परेका चारै जना १४ दिनको न्यायिक हिरासतमा थिए।








