२४ मंसिर, एजेन्सी । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्ने भएकी छिन् ।
पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
आफ्नो पार्टीकी उपाध्यक्ष समेत रहेकी उनले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत वर्ष पार्टी चलाएकी थिइन् ।
फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी)ले प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ बर्षीया मरिनलाई सरकारको नेतृत्व गर्न पठाउने गरी चयन गरेको छ ।
गत अप्रिलमा गरिएको निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेकोले त्यही दलबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्था अनुसार मारिन प्रधानमन्त्री बन्न लागेकी हुन् ।
आमाले एक्लै हुर्काएकी मारिनले प्रशासनशास्त्रमा स्नातकोत्तर गरेकी छिन् भने विश्वविद्यालयमा पढ्न जानेमा उनी आफ्नो परिवारको पहिलो व्यक्ति पनि बनेकी थिइन् ।








