२५ मंसिर, काठमाडौं । विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भाइबर, ह्वाट्स एप, इमो, फेसबुकबाट चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ गरेको हो ।

उनीहरुले विदेशी नागरिकहरू नाइजेरियन पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा काम गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेकालाई बुधबार सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अपराध महाशाखाका एसएसपी सहकुल थापाले समूहको १७ वटा बैंकमा कारोबार भएको देखिएको बताए । १७ बैंकबाट यो समूहको १४ करोड रुपैयाँको कारोबार भएको देखिनुले अन्य बैंक नै ह्याक भएको हुनसक्ने निष्कर्षमा प्रहरी पुगेको उनले बताए ।

प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार ह्याक र ठगी गरेको रकम नेपाली एजेन्टमार्फत् भारत पठाउने गरेको खुलेको छ । नेपाली एजेन्टले १५ देखि २० प्रतिशत कमिसनमा उनीहरुलाई साथ दिएको देखिएको छ । एजेन्टले ठगी गरेको रकम कारोबारका लागि प्रयोग भएका बैंकको सिस्टम ह्याक भएर रकम झिकिएको हुनसक्ने एसएसपी थापाले बताए ।

अहिलेसम्म कृषि विकास बैंक र पानस रेमिट ह्याक भएर रकम झिकिएको खुलासा भइसकेको छ । बैक अफ काठमाडौं, प्रभु, मेगा, हिमालयन, सनराइज, सिजिटन, नविल, माछापुछ्रे, एसबीआइ, नेपाल बंगलादेश, ग्लोबल आइएमइ, एनआइसी एसिया, स्ट्यान्डर चार्टर्ड, एनएमबी, सिद्धार्थ, लक्ष्मी बैक तथा लुम्बिनी विकास बैंकबाट कारोबार गरिएको देखिएकाले ती सबैमा ह्याकिङको सम्भावना रहेको प्रहरीको अनुमान छ ।