२६ मंसिर, काठमाडौं । आज शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा उधौली र योमरी पूर्णिमा मनाइँदै छ ।
नयाँ धान भित्र्याएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ । यो पर्वमा धानको विशेष महत्व हुन्छ ।
धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ । भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भनिएको हो । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कुल देवता, पितृ देवता र देवी–देवताहरुलाई अर्पण गरेपछि मात्र आफूले खाने परम्परा छ । कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर नयाँ धानबाट चामलको खीर भोग लगाउने गरिन्छ ।
याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्त रूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् ।
किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किरात जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।








