२६ मंसिर, एजन्सी ।  भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएको विरोधमा बिभिन्न स्थानमा आन्दोलन चर्किएकाले कर्फ्यु लगाइएकाे छ ।

नागरिकता विधेयकमा भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ । यसमा मुस्लिम उल्लेख छैन । विपक्षी दलहरुले मुस्लिम समुदायलाई सरकारले भेदभाव गरेको भनेर विरोध गर्दै आएका छन् । उनीहरुले यो विधेयक भारतीय संविधानको धारा १४ को समानताको हकसम्बन्धी व्यवस्था विपरीत भएको तर्क गरेका छन् ।

मोदी नेतृत्वको सरकारले नागरिकता संशोधन विधेयक ल्याएलगत्तै भारतमा फैलिएको आक्रोश राज्यसभाबाट पनि पारित भएपछि थप चर्किएको छ । बुधबार आन्दोलन चर्किंदै गएपछि आसामको गुवाहाटीमा साँझदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको छ । प्रदर्शनकारीले त्यहाँको चबुआ र पनीटोला रेल स्टेशनमा तोडफोड तथा आगजनी गरेका छन् । अन्य केही सवारी साधनमा पनि आगजनी भएको छ ।