२७ मंसिर, काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ ।
बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
मंसीर २७ गते शुक्रबारकाे माैसम पुर्वानुमान
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमी भू-भागका केही स्थानमा हावा हुरी आउने पनि संभावना रहेको छ।
राती: देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको छ।








