१ पुस, बीबीसी । पाकिस्तानको एउटा विशेष अदालतले पूर्वसैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ।

बीसीसी उर्दूका अनुसार पेशावर उच्च अदातलका मुख्य न्यायाधीशसहितको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो।

पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेको छ।

डन पत्रिका लेख्छ: “उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो।”

उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको डनले लेखेको छ। यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो।

मुशर्रफ सन् २०१६ देखि यूएईको दुबईमा रहेको डनले लेखेको छ।