३ पुस, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीलाई कम्पनीकरण गर्ने पक्षमा आफु नरहेको बताएका छन ।
बिहिबार काठमाडौंमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं बार्षिक साधारणसभा उद्घाटन गर्दै सहकारीलाई कम्पनीकरण गर्ने इच्छा आफ्नो नरहेको बताएका हुन ।
सहकारी कुनै कम्पनी नभएको भन्दै उनले कम्पनीको निश्चित सिमाभित्रको कार्यभित्र लैजान नहुने तर्क गरे । मन्त्री खतिवडाले सहकारी क्षेत्रलाई सरकारले गर्ने आर्थिक बिकासको सम्वाहक क्षेत्रको रुपमा अघि बढाउन खोजेको बताए । उनले सहकारी क्षेत्रको नीजी क्षेत्रसंग हुने सहकार्यले केहि कानूनी अवरोध देखिएपनि त्यसलाई फुकाएर भएपनि सहकारीलाई सरकारले संगसंगै अघि बढाउने बताए ।
४४ शाखामार्फत देशभरका सहकारी संघसंस्थाको शेयर रकम १ अर्व ६८ करोड ३८ लाख, निक्षेप २८ अर्व ४० करोड र कर्जा २० अर्व रहेको बैंकका कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइले जानकारी दिए । बैंकमा ११ हजार ३ सय सहकारी संघसंस्था सदस्य छन् ।








