कास्की- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि आज सम्झौता भएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६)मा चार्टर्ड उडानका लागि अनुमति पाएको हो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ ।
“चीनको सिचुआन एयरलाइन्सलाई चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुन २१ मा चार्टर्ड उडानका लागि अनुमति प्रदान गरिएको छ । एयरलाइन्ससँग उडान नियमितताका लागि छलफल चलिरहेको छ”, प्राधिकरणले भनेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७)मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो ।