काठमाडौं । पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले बैंकको ब्याजदर निर्धारण बजारले नै गर्नुपर्ने बताएका छन् । खुल्ला बजारको अवधारणामा बैंकको ब्याजदर निर्धारण गर्न कुनै पक्षले एकरुपताको अभ्यास गर्न नहुनेमा जोड दिएका उनले सबै बैंकमा एउटै ब्याजदर हुँदा बजार प्रतिस्पर्धी बन्न नसकेको बताएका हुन् ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको नाफिज सम्वादमा आर्थिक पत्रकारहरुलाई प्रशिक्षण दिँदै पूर्वबैंकर क्षेत्रीले बैंकर्स संघले बैंकहरुको ब्याजदरमा एकरुपता ल्याउने अभ्यास गर्न नहुने बताएका हुन् ।

 

विगतदेखि भइरहेको अभ्यासले प्रतिस्पर्धी बजारको विकास हुन नसकेको बताएका उनले यस सम्बन्धमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रश्न गर्नुपर्ने बेला भएको बताए ।

परिस्थिति असहज भएका बेला बैंकहरुले सहकार्य गरी स्थितिलाई नियन्त्रणबाहिर जान नदिएको भए पनि अहिले स्थिति सहज भएको भन्दै क्षेत्रीले ब्याजदर निर्धारणको जिम्मा बैंकहरु स्वयंलाई दिनुपर्नेमा जोड दिए ।

बैंकिङ क्षेत्रमा अहिले साढे ३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम भएको अवस्थामा बैंकहरुले आफू अनुकूल ब्याजदर निर्धारण गर्नुपर्ने उनले बताए ।

‘हिजो बजार असहज अवस्थामा हुँदा बैंकर्स संघले ब्याजदर नियन्त्रण गर्न राम्रो भूमिका खेलेको थियो, नेपाल राष्ट्र बैंकले अनौपचारिक दबाब पनि दिएको हो,’ क्षेत्रीले भने, ‘अहिले साढे ३ खर्ब भन्दा बढी लगानीयोग्य रकम छ । यस्तोमा ब्याजदर बढाउने कि घटाउने बैंलाई नै छाड्नुपर्छ ।’

‘खुला अर्थतन्त्रमा सबै बैंकको एउटै ब्याजदर कसरी हुन्छ ?’ क्षेत्रीले प्रश्न गरे । एउटै ब्याजदर हुँदा ग्राहकलाई कुन बैंकमा पैसा जम्मा गर्ने भन्ने छनोट गर्न पनि असहज भएको उनको भनाइ छ । ‘यस सम्बन्धमा अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग जवाफ माग्नुपर्ने बेला भएको छ,’ क्षेत्रीले थपे, ‘राष्ट्र बैंकले पनि बैंकर्स संघलाई नैतिक दबाब दिनुपर्छ ।’

अहिले बजारमा बैंकहरुसँग ३ खर्ब ७० अर्ब रुपैयाँ लगानी गर्नसक्ने क्षमता छ । बैंकहरुसँग कुल स्रोत ५९ खर्ब २५ अर्ब रुपैयाँबाट ९० प्रतिशत सीडी अनुपातको आधारमा ५३ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गर्ने क्षमता छ । तर, शनिबारसम्मको तथ्य अनुसार ४९ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको छ । अर्थात् बैंकहरुसँग ३ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गर्नसक्ने स्पेस छ ।