कैलाली – भानुभक्तीय रामायणमा आधारित नेपाली भाषामा रचित रामकृष्ण लीला धनगढीमा सुरु भएको छ। धनगढीका युवा मिलेर मर्यादा पुरुषोत्तम श्रीरामचन्द्र भगवानको कथामा आधारित रामलीला र महाभारतमा वर्णित पात्र कृष्ण भगवानको चरित्रमा आधारित कृष्णलीला संगीतमय नाटक मञ्चन गर्न थालेका हुन्।

मानस सांस्कृतिक समाज धनगढीको आयोजनामा भइरहेको रामकृष्ण लीलामा युवालाई लक्षित गर्दै सुसंस्कृत समाज निर्माणका लागि मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रको जीवनीमा आधारित नाटक मञ्चन हुन थालेको हो। समाजमा सांस्कृतिक विकृति बढ्दै गएको र नैतिक शिक्षाको कमीका कारण युवाहरू कुलत, कुसंस्कारमा फस्न थालेको भन्दै उनीहरूलाई नैतिकवान् तथा सामजिक ज्ञान दिन धनगढीमा रामकृष्ण लीला सञ्चालन गरिएको आयोजक समितिका अध्यक्ष आदित्य जोशीले बताए। उनले भने, ‘पछिल्लो समयमा युवाहरूमा नैतिकता, सामाजिक तथा सांस्कृतिक विचलन आउन थालेपछि उनीहरूलाई मौलिक संस्कृतिप्रति आकर्षित गर्न रामकृष्ण लीला मञ्चन गरेका हौं।’

भानुभक्तीय रामायणमा आधारित नेपाली भाषामा रचित रामकृष्ण लीला धनगढीमा पहिलोपटक मञ्चन गरिएको छ।

रामकृष्ण लीला मञ्चनमा कलाकारहरू सबै युवालाई नै परिचालन गरिएको बताउँदै रामकृष्ण लीला महोत्सव कार्यक्रम सञ्चालक वासुदेव विष्टले भने, ‘युवाहरूलाई नै लक्षित गरेर युवाहरूलाई नै हामीले कलाकारिताका माध्यमबाट उभ्याएका छौं।’

युवाहरूलाई तीन महिनाको तालिमपश्चात रामलीलासञ्चालन गरिएको उनले बताए। आसुरी शक्तिमाथि दैवी शक्तिको विजय प्राप्त भएको प्रसंग जोडी दसैंको अवसर पारेर आश्विन पूर्णिमाका दिनदेखि रामकृष्ण लीला ज्ञान महोत्सव सञ्चालन गरिएको उनले बताए।

उस्ताज शिवदत्त पन्तको निर्देशनमा सञ्चालन हुन थालेको रामकृष्ण लीलामा एक सय २० जना कलाकारले कला प्रस्तुत गरिरहेका छन्। धनगढीको खुलामञ्चमा गत आइतबारदेखि रामकृष्ण लीला ज्ञान महोत्सव सुरु भएको हो। महोत्सव कात्तिक ८ गतेसम्म जारी रहने आयोजकले जनाएको छ।