लन्डन : इङ्लिस प्रिमियर लिग फुटबल आगामी जुलाई १७ बाट सुरु हुने भएको छ। गत मार्च १३ मा स्थगित भएको लिग जुलाई १७ बाट सुरु गर्ने सहमति जुटेको हो। एस्टर्न भिल्ला र सेफिल्ड तथा म्यानचेस्टर सिटी र आर्सनलको खेलबाट लिग सुचारु हुनेछ।

प्रिमियर लिग क्लबका खेलाडीहरू सामूहिक अभ्यासका लागि पनि तयार भएका छन्। भिडियो कन्फरेन्समार्फत भएको छलफलमा क्लबहरूले आफ्ना खेलाडी सामूहिक अभ्यासका लागि तयार रहेको बताएका हुन्। यसअघि खेलाडीले छुट्टाछुट्टै अभ्यास गर्दै आएका थिए।

पछिल्लो समय गरिएको कोरोना भाइरस परीक्षणमा केही खेलाडीको नतिजा पोजेटिभ आएपछि सामूहिक अभ्यासमा प्रश्न उठेको थियो। तेस्रो चरणमा पछिल्लो पटक विभिन्न क्लबका एक हजार आठजना खेलाडी र क्लबका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। तेस्रो चरणमा गरिएको परीक्षणमा थप तीनजना खेलाडीको नतिजा पोजेटिभ आएको छ।

यद्यपि, क्लबहरूले खेलाडीको सामूहिक अभ्यास अगाडि बढाउनुपर्ने पक्षमा सहमति जनाएका छन्। सामूहिक अभ्यासका क्रममा खेलाडीहरूले एकअर्काको नजिक जान पाउनेछन् र आवश्यकता अनुसार एकअर्कालाई छुन पनि पाउनेछन्।

यसका लागि विभिन्न चरणमा खेलाडी, क्लबका कर्मचारी र पदाधिकारीको कोरोना परीक्षण गरिँदै आएको छ। हालसम्म विभिन्न क्लबका दुई हजार सात सय ५२ जनाको परीक्षण गरिएकोमा १२ जनाको नतिजा पोजेटिभ आएको छ। प्रत्येक क्लबले सातामा दुई पटक आफ्ना खेलाडी र कर्मचारीको कोरोना परीक्षण गराउने गरेको छ।

कुनै खेलाडी वा कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिए उनीहरूलाई सात दिनका लागि सेल्फ आइसोलेसनमा राख्ने र त्यसपछि पुनः परीक्षण गराउने गरिएको छ। खेलाडीको सामूहिक अभ्यास सुरु गर्ने वा नगर्ने भन्ने विषयमा क्लबका प्रतिनिधि, खेलाडी, प्रशिक्षक, व्यावसायिक फुटबल खेलाडी संघका पदाधिकारी, लिग सञ्चालक र सरकारका प्रतिनिधिबीच छलफल भएको थियो।

सोही छलफलपछि खेलाडीको सामूहिक अभ्यास सुचारु गर्ने सहमति जुटेको हो।

प्रिमियर लिगमा अब कुल ९२ खेल हुन बाँकी छ। क्लबहरूले गत सातादेखि नै आफ्ना खेलाडीलाई छुट्टाछुट्टै अभ्यासका लागि मैदानमा उतारिसकेका छन्। प्रिमियर लिग गत मार्च १३ तारिखदेखि स्थगित छ। लिग स्थगित हुनुअघि २९ खेल खेलेको लिभरपुल ८२ अंकसहित तालिकाको पहिलो स्थानमा छ। २८ खेलबाट ५७ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ।