निकाल्यौं हीरा मोती, बनायौं सुनका दरबार
न हामीलाई एक छाक रोटी न ओत लाग्ने घर।

काठमाडौं : जनवादी गायक जीवन शर्माले यो गीत त्यसै गाएका होइनन्। विभेदबिनाको समाज स्थापित हुनुपर्छ भनेर शर्मा सडकमा जनताका गीत गाउँदै हिँडेको लामो समय भइसक्यो। समाजमा जकडिएको अन्धविश्वास हो जातीय विभेद। मान्छे मान्छेमा विभेद गरिनु हुन्न भन्ने आवाज उठ्न थालेको निकै भइसक्यो। मूर्ति बनाउनेहरू नै मन्दिर पस्न नपाएपछि हो जातकै आधारमा गरिने विभेद सही होइन भन्ने आवाज उठेको।

हामी राष्ट्रियताको कुरा गर्छौं, सिमाना मिचिएको र देशभक्तिको कुरा गर्छौं तर आफंैभित्र जकडिएको जातीयताको सवालमा मौन बस्छौं। अन्तरजातीय प्रेम गरेका जाजरकोटका नवराज विक प्रेमिका लिन रकुम पुगेपछि गाउँलेको प्रतिकारमा उनीसहित तीन युवा मारिए। तीन बेपत्ता छन्। यो एक युवाको मात्रै घटना होइन, यसले हाम्रो समाज कस्तो छ भन्ने देखाउँछ।

केही महिनाअघि गायक प्रकाश सपूतले पनि जातकै आधारमा अक्षम्य अपमान सहनु पर्‍यो। उनको गीत गलबन्दीको धुनमा गायक शम्भु राईले कपिराइटको सवाल उठाएपछि विवाद चर्किएको थियो। सामाजिक सञ्जालमा प्रकाशले निकै कमसल खालका टिप्पणी सुन्नु पर्‍यो। आफूलाई थामथुम पारेर सम्हाले उनले। तर रुकुम घटनापछि प्रकाश अशान्त बनेका छन्। यो विभेद कहिलेसम्म भन्ने सवाल उनीभित्र तँछाडमछाड गर्दै दौडिरहेको छ। घटनापछि उनले एउटा कविता फेसबुक पेजमा पोस्ट गरेका छन्।

कवितामा उनी भन्छन्,
सरकार,
खुकुरी उदाएर निस्किएकै हो।
जान्छु देशको सिमानामा र थापिन्छु
कि काट्छु कि काटिन्छु भनेर।
तर रुकुम पुगेर रोकिएँ
सरकार त्यहाँ त झन् कत्रो ठूलो पर्खाल रहेछ नि
जातीय विभेदको
वर्गीय विभेदको
सिमाना भित्रका यी पर्खाल भत्काउँदा भत्काउँदै
देशको सिमानामा पुग्न ढिलो भएँ भने
म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार ?     
देशभक्त मानिन्छु कि मानिन्न ?

सरकार
उत्तर दिइहाल्नु भयो भने
यो पनि भनिदिनुहोला
म एक स्वाभिमानी नेपाली

यो जुनीमा मान्छे मानिन्छु कि मानिन्न ? भन्नलाई त जातमा के नै छर भनेर सवाल गरिन्छ। तर आफूलाई कथित माथिल्लो जात भन्नेहरूले दलित समुदायप्रति सदीआंैदेखि बर्बरता देखाइरहेका छन्। प्रकाशका अनुसार जातसँगै समाजमा वर्गीय विभेद पनि उत्तिकै बलियो तरिकाले उभिएको छ। गरिब, दलित, मजदुर, सर्वहारा वर्गप्रति मानिस हुन् भन्ने व्यवहार नै गरिन्न। सदीऔंदेखि चलिरहेको ढोङ, अहमतासँगै अन्धविश्वासको पराकाष्ठाका रूपमा रुकुम घटनालाई उनले बुझेका छन्।

लकडाउनको समयमा गृह जिल्ला बागलुङमा रहेका प्रकाश बेलाबेला सार्वजनिक मुद्दाहरूमा आवाज उठाइरहन्छन्। उनी भन्छन्, ‘प्रविधिको विकासले हातबाटै संसार नियाल्न सक्ने बनिसक्यौं तर समाजको ढोङ र अन्धविश्वास हट्न सकेन। मानिसले शिक्षा त लिए तर चेतनाको विकास गर्न सकेनन्। त्यति ठूलो गाउँमा कुनै एकजनाले मात्रै यो गलत हो, गर्नु हुन्न भनेको भए आज तीन युवा अकालमा मारिने थिएनन्।’ गाउँले सबै मिलेर दलितमाथि यति क्रूर व्यवहार कसरी गर्न सके यही सोचेर म हैरान छु।

उनी कवितामै भन्छन्, ‘सरकार सीमा मिचिएको व्यवहार विस्तारै मिलाउँदै जाउँला। तर देशलाई माया गर्ने, आवश्यक पर्दा गोली खान तयार हुने युवालाई त बचाउनुस्। दलित परिवारमा जन्मिएकै कारण बाच्नै नपाउने? मानिस हुँ भन्नै नपाउने?     

दलितका नाममा अनेक विकृति भइरहँदा पनि सरकारले उचित कदम चाल्न नसकेकोमा उनको गुनासो छ। उनी सोध्छन्, ‘बेरोजगारीका समस्या साझा समस्या बनेर चर्चा हुन्छ, कुनै एक धर्म विशेषको प्रचार सरकारबाटै हुन्छ। तर जातीय विभेद, धर्मको नाममा भइरहेको अपराध, सामाजिक मान्यता र चलनको बहानामा फैलिएको गलत कार्य सबै मानिसको साझा समस्या किन हुन्न ? ’

जातीय विभेदको नाममा हुने अपराध कुनै जात विशेषको नभएर समाजको विषय हो। जबसम्म यो विषयले समाजमा चर्चा पाउँदैन, सरकारको ध्यान जाँदैन, कानुनी सजाय कार्यान्वयन हुँदैन तबसम्म समाज विभेद मुक्त नहुने उनको बुझाइ छ।