काठमाडाैं, २१ जेठ । झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेमविवाह गरे । सुमनको उमेर १७ र किशोरीको उमेर १५ वर्षको थियो । फेसबुकमार्फत चिनजान भएका उनीहरूले दुई महिना प्रेम–सम्बन्धमा रहेपछि विवाह गरेका थिए । तर, बिहे गरेको सातौँ दिन प्रहरी घरमै आएर सुमन र ती किशोरीलाई पक्राउ गरेर लग्यो ।

‘पुलिसले हथकडी लगाएर लग्यो । किन लग्यो हामीले त थाहै पाएनौँ,’ सुमनका बुबा गोपालले भने, ‘पछि त तेरो छोराले बलात्कार गर्‍यो पो भन्छन् !’ विवाह नगरे आत्महत्या गर्ने प्रेमिकाको घुर्कीपछि सुमनले उनलाई भित्र्याएका थिए । तर, प्रेमको बदला उनले जेल सजाय पाए । जिल्ला अदालत झापाले सुमनविरुद्ध जबर्जस्ती करणी मुद्दामा नौ वर्ष जेल सजाय तोकेको छ । उनी अहिले बाल सुधारगृह विराटनगरमा छन् ।

छोरीले कथित तल्लो जातको युवकसँग बिहे गरेपछि उनको परिवारले इलाका प्रहरी कार्यालय दमकमा बलात्कार मुद्दा दर्ता गराएको थियो । प्रहरी र अदालतमा ती किशोरीले सहमतिमै विवाह गरेको बयान दिँदा पनि सुमनले धर पाएनन् । ‘जातकै कारण मेरो छोरोलाई फसाइयो । बिहे गरेर घरमा ल्याएकी बुहारीलाई बलात्कार गर्‍यो भनियो । त्यस्तोमा कसरी बलात्कारको मुद्दा लाग्यो,’ गोपालले भने, ‘बरु, बालविवाह गरेको भन्न मिल्छ, त्यही मुद्दा लगाएको भए ठीकै हो भन्न पनि हुन्थ्यो नि !’

अहिले वेलावेला छोरा भेट्न विराटनगर पुग्छन् गोपाल । ‘जति खर्च लाग्छ यहाँबाट निकाल्नु बुबा, बरु म कमाएर तिर्छु’ भन्दै सुमन रुन्छन् । छोराको रोदनले गोपाल पनि भक्कानिन्छन् । ‘मनमनै भन्छु– दलित भएर जन्मनु नै तेरो पाप रहेछ,’ गोपालले भने, ‘हामी निमुखाको त के नै पो लाग्दोरहेछ र !’ दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्ने गोपाल कानुनको भाषा बुझ्दैनन्, छोरो छुट्ने आसमा कानुन व्यवसायी जे भन्छन् त्यही गर्छन् । मुद्दा–मामिलामा अहिलेसम्म एक लाख सकिसके, तर छोरो छुटेन । ‘खै वकिलले छुट्छ भन्थ्यो । पैसा मात्र लग्यो, तर छोरा छुटेन, अहिले पनि के–के गर्दिन्छु भन्छन् । पैसै मात्र माग्छन्,’ गोपालले भने । चिरञ्जीवी घिमिरेले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।