कोरोना महामारीबाट अछुतो को छ र ? सबैतिर अन्योल, अनिश्चय र संक्रमणको डर । त्यसमाथि निषेधाज्ञाका कारण घरभित्रै थुनिनुपर्ने बाध्यता । आम जीवन यही हो । तर बिहान–बेलुका पसिना चुहाएर मात्रै छाक टार्न सक्ने विपन्न र मजदुरको अवस्था अझै अत्यासलाग्दो छ।

‘साँघुरो गल्लीमा मेरो चोक छ।

यहाँ के छैन ? सबथोक छ।

असंख्य रोग छ, अनन्त भोक छ।’

कवि भूपि शेरचनले २०१७ सालमा परिवर्तित राजनीतिक व्यवस्थाको समय लेखेको कविताका अंश हुन् यी । जुन, आजको कोरोना महामारीमा थाल खाउँ कि भात खाउँ ? को अवस्थामा पुगेका विपन्न र मजदुरका लागि लेखिएझैँ लाग्छ । 

अझ काठमाडौंको पशुपति आसपासको तिलगङ्गामा रित्तो पेट भर्न दाताले ल्याउने खानाकै लागि ५ घण्टादेखि पर्खिरहेका यी मजदुरको अवस्था देखेको भए भूपिले अझ छर्लङ्ग पार्थे कि भोक के हो भनेर ? 

महिनौँदेखिको कोरोना कहर, त्यसले खोसेको काम अनि कामकै अभावमा खोसिएको माम । यो अवस्थामा कोही मनकारीको बाटो हेर्नुको विकल्प छैन । 

बिहान– बेलुका काम गरेर छाक टार्ने वर्गलाई यो समयले कति अत्याएको छ भन्ने बुझ्न यही दृश्य पर्याप्त छ । पाखुरा बजारेर खान्छुभन्दा पनि हात बाँधेर बस्नुपर्ने अवस्था आउला र मुखमा माड लगाउन निषेधाज्ञाकै कारण प्रहरीको आँखा छलेर यतिसम्म भौंतारिनुपर्ला भनेर सायद, कसले सोचेको थियो होला र ?  तर परिस्थितिले यस्तै बनायो। 

सबैजसो मानिस कोरोना संक्रमणको डरले घरभित्रै थुनिएका छन् । तर यी विपन्न र मजदुरलाई न राम्ररी थुनिने घर छ । न रोगबाट जोगिने कुनै सावधानीका सामग्री । छ त केवल पेटभरि राँको । त्यसैले जब खाना आइपुग्छ, अनुहार उज्यालो हुन्छ, मन प्रसन्न ।  तर के गर्ने ? एक छाक खायो, अर्को छाक टार्ने पिरलो सुरू भइहाल्छ ।